पञ्चदेवल नगरपालिकाका स्वास्थ्यकर्मीलाई विनायकमा कोचिङ

२०८० पौष १ आइतबार १४:०३:०० मा प्रकाशित

अछाम : पञ्चदेवल विनायक नगरपालिकाका सम्पूर्ण स्वास्थ्यकर्मीहरू सँग स्वास्थ्य सम्बन्धी अन साइट कोचिङ तथा समीक्षा गर्दै अभिमुखीकरण कार्यक्रम नगरपालिकाको सभा हलमा सुरु भएको छ ।

स्वास्थ्य समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन लगायतका विषयमा ९ वटै वडाका स्वास्थ्य चौकी इन्चार्ज लगायत स्वास्थ्यकर्मी हरूलाई आइतबार कोचिङ सुरु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गाना र जनस्वास्थ्य अधिकृत झपटराज ढुङ्गानाले स्वास्थ्यकर्मी हरूलाई कोचिङ गरिरहेका छन् ।

स्वास्थ्य संस्थाहरूमा भएका उपलब्धि तथा चुनौतीहरू को तथ्याङ्क प्रस्तुत गर्दै समीक्षा भइरहेको हो । स्वास्थ्य संस्थाहरू प्रभावकारी नभएको,एकापसमा समन्वय नगरेको,कर्मचारीहरू जिम्मेवार नभएको जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कले देखाएको छ ।


आगामी दिनमा स्वास्थ्यकर्मी हरूले लिएको तालिम सही रूपमा समुदाय स्तरमा कार्यान्वयन गर्न, स्वास्थ्य कार्यालय तथा पालिका बाट अनुगमन सुपरिवेक्षण तथा पृष्ठपोषण दिनु पर्ने स्वास्थ्य कार्यालयका अधिकारीहरूले औँल्याएका छन् ।

अभिमुखीकरण कार्यक्रमकाे सहजीकरण जनस्वास्थ्य निरीक्षक तथा शाखा संयाेजक जनक बुढाले गरेका छन्